fbpx

छायाँ सेन्टर सञ्चालक भन्छन् : कानुन मिचेर पूर्वाधार बनाएका छैनौँ

 
काठमाडौँ : ठमेलस्थित छायाँ सेन्टरले कुनै किसिमको गैरकानुनी काम नगरेको जनाएको छ । सेन्टरका सञ्चालकले मंगलबार एक पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलनको तयारी चल्दै गर्दा मुलुकभित्रकै लगानीको सुरक्षामा गम्भीर प्रश्न उठेको दाबी गरेका छन् । 

स्वदेशी लगानीका पुर्वाधार र आयोजनामा केही स्वार्थीहरुको आक्रमणले असुरक्षा बढेको जनाउँदै निजी लगानीको सुरक्षाको प्रत्याभुत नभएसम्म विदेशी लगानी भित्र्याउन कठिन हुने छाँया सेन्टरले जनाएको छ । 

सेन्टरले राज्यको कानुनको अधिनमा रहेर गरिएको अर्बौं रुपैयाँको लगानीमा नियोजित आक्रमण थालिएको दाबी गरेको छ । पर्यटकीय गन्तव्य ठमेलमा सञ्चालनमा ल्याइएको छाँयादेवी कम्प्लेक्स अर्थात छाँयाँ सेन्टरलाई गलत प्रचारको शिकार बनाउन खोजिएको सञ्चालकको भनाइ छ । तीन दर्जन बढी स्वदेशी लगानीकर्ताको साढे पाँच अर्ब बढी लगानीमा सेन्टर डिसेम्बर २५ सञ्चालनमा आएको थियो । 

ठुलो लगानीमा सञ्चालनमा आएकै कारण छायाँ सेन्टरमाथि आक्रमण गर्न थालिएको छायाँ सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताए । ‘ठमेल भित्रको ठमेलका रुपमा आएको ठुलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले आक्रमण प्रयास भएको छ’, श्रेष्ठले भने, ‘पैसा तिरेर जग्गा किनेर प्रोजेक्ट अघि बढाउँदा हामीलाई किन तारो बनाइँदैछ भन्ने कुरा यसअघिका केही आयोजनामा भएको घटनाक्रमले पुष्टि गर्छ ।’ 

छायाँ सेन्टरले सरकारी निकायबाट तोकिएका सबै कानुनी प्रक्रिया पुरा गरेर नै निर्माण गरिएको जनाएको छ । ‘सरकारी निकायबाट पुरा गर्नु पर्ने सबै प्रकृया सकेर निर्माण गरिएको छायाँ सेन्टरलाई एकाएक किन आक्रमण गरिँदैछ ? जग्गा किनेको ६ वर्षपछि कम्प्लेक्स निर्माणको काम थाल्नु पहिले किन प्रश्न गरिएन ? हामीले २ वर्ष लगाएर वातावरणीय प्रभाव मुल्यांकन तथा सार्वजनिक सुनुवाई गरेर छिमेकी तथा साँधसँधियारसँग सम्झौता गरी निर्माण थालिएको आयोजनामाथि अहिले प्रश्न उठाउनु आश्चर्यको विषय बनेको छ’, श्रेष्ठले भने ।


काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा रहेका कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम, कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम, कित्ता नम्बर १६१६ को २ रोपनी १० आना र कित्ता नम्बर १६१७ को ६ आना जग्गा जग्गा सिंह सार्थ गरुड भगवान बहाल गुठीबाट विभिन्न व्यक्ति हुँदै अम्बिका राणको नाममा नामसारी रैतानी दर्ता भएको दाबी छायाँ सेन्टरले जनाएको छ ।


साविकको कित्ता नम्बर १६७ को २६ रोपनी ८ आना जग्गामध्ये माथि उल्लेखित जग्गाहरु अम्बिका राणको नाममा मोही दर्ता भइ भोग तिरो रहेको जग्गाका रुपमा छायाँ सेन्टर रहेको सञ्चाकले बताएका छन् । उक्त जग्गा केशर शमशेरको नाममा मोही जनाइएको छ । 

सञ्चालकका अनुसार मोही केशर शमशेरले उल्लेखित जग्गामा पर्खाल लगाएर आफ्नो परिसर भित्र पारेका थिए । यो विषयलाई गुठीको जग्गा खिचोला गरेको भनी फिराद परेपछि २०३० बैशाख २५ गते काठमाडौं जिल्ला अदालतले उक्त फिराद खारेज गर्ने फैसला गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

जिल्ला अदालतको फिराद खारेजीको उक्त फैसलामा पुनरावेदन परेपछि २०३१ असोज २५ गते काठमाडौं जिल्ला अदालतले पहिलेकै फैसलालाई सदर गर्दै पुनरावेदनको अनुमति पाएर सर्वोच्च अदालतमा २०३३ पुस ३ गते केयुर शमशेर मोही भई भोगचलन गरी खान पाउने गरी भगवान गुठीका तर्फबाट सबै दाबी छाडेर मिलापत्र भएको छायाँ सेन्टर सञ्चालकको भनाइ छ ।

Content Online Link: http://annapurnapost.com/news/120916